समाचार

अर्थमन्त्रीको कोपभाजनमा गभर्नर

काठमाडौँ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्मासँग द्वन्द्वको वातावरण बनेपछि सरकारले अधिकारीलाई गभर्नरबाट हटाउने तानाबाना बुनेको हो।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर अधिकारीलाई सरकारी सूचना चुहाएको गम्भीर आरोप लगाउँदै त्यसको जाँचबुझ गर्न समिति गठनको निर्णय गरेको थियो। त्यसअनुसार शुक्रबार समिति गठन भएपछि गभर्नर अधिकारी निलम्बनमा परेका छन्।

राष्ट्र बैंक ऐन, २०५८ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्नुपहिले जाँचबुझ समिति गठन गर्ने र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ। यही व्यवस्थामा टेकेर अधिकारीलाई निलम्बन गरिएको हो। डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। गभर्नर अधिकारीले आफूलाई निलम्बन गरिएको भन्ने समाचारहरूबाट थाहा पाएको तर शुक्रबार साँझसम्म पत्र नपाएको बताए। ‘सरकारले पत्र थमाएपछि मात्र कमेन्ट गरौंला,’ गभर्नर अधिकारीले सँग भने।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा गभर्नर नियुक्त अधिकारी र वर्तमान सरकारका अर्थमन्त्री शर्माबीच सुरुदेखि नै मनमुटाव हुँदै आएको थियो। पछिल्लो समय अर्थतन्त्रमा विभिन्न समस्या देखिएपछि दुईजनाबीच झनै विवाद बढेको थियो। राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको कार्यक्रममा नै अर्थमन्त्री शर्माले गभर्नर अधिकारीको आलोचना गरेका थिए।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठकमा गभर्नर अधिकारीका बारेमा प्रश्न उठेको थियो। विलासी वस्तु आयात रोक्नेलगायतका नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएको गम्भीर आरोप लगाउँदै गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति बनाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *