समाचार

रेमिट्यान्स बढाउन श्रममन्त्री श्रेष्ठको १२ बुँदे प्रस्ताव

काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशबाट आउने रेमिट्यान्स व्यवस्थित गर्नुपर्ने प्रस्ताव पेश गरेका छन्। अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा उनले बैंकिङ च्यानल प्रयोग गरी देशमा विदेशी मुद्रा भित्र्याउन आकर्षित गर्नुपर्ने बताएका छन्।

विदेशबाट सोझै नेपालको बैंकको खातामा जम्मा हुने रकममा २ प्रतिशतभन्दा बढी ब्याजदर दिनुपर्ने उल्लेख गरेको छ।

यी हुन् मन्त्री श्रेष्ठका १२ बुँदे प्रस्ताव

१. वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने।
२. विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने।
३. विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने।
४. विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा २ प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने।
५. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने।
६. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने।
७. वार्षिक रुपमा सबैभन्दा धेरै विप्रेषण पठाउनेमध्ये लाई राष्ट्रिय सम्मान गर्ने।
८. औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने।
९. नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबर रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने।
१०. वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने।
११. सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने।
१२. वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *