काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे झण्डै दोब्बर मतले अगाडि छन् ।
हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उनले दुई हजार २१५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । बिहीबारदेखि आठ स्थानमा मतगणना भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेका समूहको अग्रता कायम छ ।
महासचिवमा अञ्जिता खनालले एक हजार ९५१मत ल्याउनुभएकामा उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा भरतबहादुर राउतले दुई हजार १५१मत ल्याएकामा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गरेका छन् ।
मंगलबार बिहानदेखि मतगणना सुरु भएको थियो । बिहीबार बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिए ।




