शिक्षा / स्वास्थ्य

प्रधानमन्त्री देउवाले उद्घाटन गरे टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप अभियानको उद्घाटन गरेका छन् ।

बिहीबार विश्व स्वास्थ्य दिवसका दिन रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले भने- जसरी हामीले कोभिडविरुद्धको खोप अभियानमा धेरै हदसम्म सफलता पाएका छौँ, मलाई विश्वास छ, टाइफाइडविरुद्धको खोप अभियानमा पनि हामी सफल हुनेछौँ ।

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । बालबालिकालाई शुक्रबारदेखि मात्रै खाेप दिइनेछ ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । यो खोप गाभीले निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने छ ।विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने बताइएकाे छ ।

पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।

यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् । पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो। राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *