समाचार

सामान्य प्रशासनमन्त्री श्रेष्ठ चढेको गाडी सिन्धुलीमा दुर्घटना

सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको खुट्टा भाँचिएको छ ।

बुधाबर बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मन्त्री सवार बा २ झ ४१२९ नम्बरको झण्डावाल गाडीले विपरित दिशाबाट आउँदै गरेको प्र.२–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गाडीले ओभरटेक गर्दै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइते दाहालको खुट्टा भाँचिएको छ । हातमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि दाहाललाई काठमाडौंतर्फ लगिएको सिन्धुली प्रहरी प्रमुख एसपी बिमलराज कँडेलले जानकारी दिए ।

मन्त्री सवार गाडीको स्पीड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरमा भएको सो घटनाबारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोज लामाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *