काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।
निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार विहान ११ः१० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान अन वान’ भेटवार्ता सुरु हुनेछ । ‘वान अन वान’ वार्ता कम्तीमा आधा घण्टा चल्ने जनाइएको छ ।
त्यसअघि निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार विहान १०ः४० बजे महात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् ।
त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा नेपाल–भारत द्विपक्षीय बैठक हैदरावादा हाउसमा नै हुनेछ ।
द्विपक्षीय बैठक सकिएपछि मध्यान्ह १२ः१५ बजे नेपाल र भारतबीच कम्तीमा चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा दुवै देशका सम्बन्धी पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।




