काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलमा अहिलेसम्म आयोजकसहित २९ देशको टुंगो लागेको छ । यस विश्वकपमा चार पटक विश्वकपको उपाधि जितेको इटाली छनौट हुन असफल भएको छ । इटाली लगातार दोस्रो पटक विश्वकपमा देखिने छैन । यस अघि इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको थियो ।
अहिलेसम्म विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल र पोल्याण्ड छनौट भएका छन् । युरोपबाट १३ देश छनौट हुनेमा १२ देशको टुंगो लागेको छ भने अब एक देशको टुंगो लाग्न बाँकि रहेको छ । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।
त्यस्तै अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुनले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडरले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् भने पेरु इन्टर कान्टिनेन्टल प्लेअफका लागि छनौट भएको छ । जसका लागि एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग पेरुले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।
त्यसै गरि उत्तर अमेरिकी क्षेत्रबाट क्यानडा, मेक्सिको र अमेरिकाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् भने कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ ।
त्यसैगरी एशियाबाट आयोजक कतार स्वत विश्वकपमा खेल्ने छ भने छनौट खेलबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
कतार विश्वकपको समुहको ड्र शुक्रबार हुने फिफाले जनाएको छ ।




