मुख्य समाचार

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक 

काठमाडौं ।  उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने । उनका अनुसार देशैभरीको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भाेलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *