समाचार

रुकुमकोटमा खानेपानीको समस्या

रुकुम पूर्व । रुकुुमपूर्वको सिस्ने गाउँपालिका-५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने-५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकाम समेत रहेको गाउँ यहाँको बढ्दो जनसंख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने-५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।

अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक-आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका-५ टाकुराका विकास बिसीले गुनासो गरे । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानी समेत नहुने बिसीले बताए ।

यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आएका विनोद केसीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बताए । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताए । पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको केसीले बताए ।

अहिले सिस्ने-५ मा तीन वटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए । उनका अनुसार अहिले सिस्ने-५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए ।

अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ । प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताएका छन् ।

सिस्ने-५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताएका छन् । केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकले बताए । समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उनको भनाइ छ । थाक्नाखोला खानेपानी आयोजना करिब पाँच करोडको लागतमा निर्माण हुन लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *