काठमाडौं । शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आज (मंगलबार) देखि शुरू हुँदैछ । आयोगले १७ हजार ३३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।
आज माध्यमिक तहको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १,५५२ पदका लागि १५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झण्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५५६ जनाले आवेदन दिएका छन् ।
आयोगले मावि तहमा १,५५२, निमाविमा २,५९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।
आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सी बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।
झण्डै पाँच वर्षपछि हुन लागेको परीक्षामा सय पूर्णाङ्कको परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुनेछन् ।




