देश

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

जनकपुर । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु-याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एउटा मोटरसाइकलमा बढी यात्रु सवार भएको र तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपी दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *