काठमाडौं । कांग्रेस नेता तथा गृहमन्त्री बालकृगष्ण खाँणले सरकार बन्नुअघि नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको खुलासा गरेका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला र उनी पक्षका कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा कम्युनिष्टलाई बोकेर पार्टीको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएको आरोप लगाएपछि खाँणले यस्तो बताएका हुन् ।
‘सरकार बन्ने बेलामा नै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो’, खाँणले भने, ‘त्यो सहमति कांग्रेसले तोड्न हुँदैन । तर, गठबन्धनका नाममा आफ्नो संगठन अलग-थलग पार्न पनि हुँदैन ।’ उनले गठबन्धनका विपक्षमा रहेका पार्टी नेताहरुलाई कांग्रेसलाई सहमति कार्यान्वयन च्युत नगर्न आग्रह समेत गरेका थिए ।
खाँणपछि शेखरलाई जवाफ दिएका प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले खाँणले खुलासा गरेको सहमतिबारे कुनै टिप्पणी नगरी शेखरलाई मात्र जवाफ दिएका थिए ।




