काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोल पम्पको कमिसन कटौती गरेपछि पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । पम्पले आज (शुक्रबार) नेपाल आयल निगमका डिपोबाट डिजेल, पेट्रोल उठाएका छैनन् ।
कमिसन यथावत नभएसम्म पेट्रोलियम पदार्थ खरिद नगर्ने निणर्य गरेको नेपाल पेट्रोलिय डिलर्स एशोसिएसन नेपालका अध्यक्ष लिलेन्द्र प्रधानले बताएका छन् । पम्पले आज यसअघि निगमबाट लिएको तेल बेचे पनि शुक्रबार लोड नलिएपछि बजारमा पेट्रोल, डिजेलको अभाव हुने देखिएको छ ।
निजी पम्पले तेल लोड नगरे पनि सरकारी स्वामित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने डिजेल, पेट्रोल लिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले शुक्रबार दुई लाख लिटर डिजेल र पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोबाट लोड लिएका छन् । निगमबाट पम्पहरुले इन्धन नउठाएपछि बजारको आपूर्ति व्यवस्था विथोलिने देखिएको छ ।
आयल निगमले पेट्रोल पम्प सञ्चालकले पाउँदै आएको सुविधा कटौती गरेको थियो । त्यसको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । मूल्य वृद्धि हुँदा कमिसन बढ्ने र घट्दा घट्ने व्यवस्था थियो । पेट्रोल पम्प व्यवसायीको कमिसन लिटरमा ६ रुपैयाँभन्दा माथि पुगेको थियो । यस पटक मूल्य बढ्दा व्यवसायीको कमिसन पेट्रोल र डिजेलमा प्रतिलिटर करिब १५ देखि २० पैसा बढ्ने थियो । यो कमिसन वृद्धि नहुने निगम सञ्चालक समितिले निणर्य गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड राखेको छ । पेट्रोलको मूल्य लिटरको एक सय ५० रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएपछि निगमले बिहीबार रातिबाट लागू हुने गरी मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै डिजेल र मट्टितेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर बढेको वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको जनाएको छ ।




