विश्व

सोभियत संघबाट टुक्रिएका देशमा सैन्य केन्द्र नराख्न रूसको चेतावनी

मस्को ।रूसका विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार पश्चिमी देशहरूले सोभियत संघ टुक्रिएर बनेका देशमा सैन्य केन्द्रहरू स्थापना गर्न नहुने चेतावनी दिएका छन्।

नेटोका सदस्य नभएका त्यस्ता मुलुकमा सैन्य केन्द्रहरू स्थापना गर्न नहुने उनको भनाइ थियो। यसै विषयमा विवाद बढ्दै गएपछि केही दिनअघि रूसले युक्रेनमाथि आक्रमण शुरु गरेको छ।

जेनेभामा भइरहेको निरस्त्रीकरण सम्मेलनमा भिडियोमार्फत सम्बोधन गर्दै रूसी शीर्ष कूटनीतिज्ञले भने‚ ‘उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्यहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा सुनिश्चितता पाउन महत्त्वपूर्ण भएको रूस विश्वास गर्छ।’​

लाभरोभले भने‚ ‘पश्चिमा सहयोगीहरूले रूसलाई दीर्घकालीन कानुनी रूपमा बाध्यकारी सुरक्षा प्रदान गर्न कुनै इच्छा देखाएका छैनन्। यी उद्देश्यहरू हासिल गर्नु हाम्रा लागि मौलिक महत्त्वको कुरा हो।’

सरकारी समाचार संस्था तासका अनुसार लाभरोभले भने, ‘पश्चिमी देशहरूले सोभियत संघबाट विभाजन भएका र नेटो गठबन्धनका सदस्यहरू नभएका राष्ट्रको भूभागमा सैन्य केन्द्र स्थापना गर्न हुँदैन।’

रूसले लामो समयदेखि युक्रेन युरोपेली संघ र नेटोमा जाने निर्णयको विरोध गर्दै आएको छ ।

आफ्नो सम्बोधनमा रूसी विदेशमन्त्रीले अस्ट्रेलिया, बेलायत र अमेरिका (अकस) बीचको त्रिपक्षीय साझेदारीको पनि विरोध गरे।

उनले तीन देशहरूबीचको सैन्य गठबन्धनले आणविक हतियार अप्रसार प्रणालीलाई अप्ठेरो पुर्‍याउने, तनाव बढाउने र हतियारको प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *