समाचार

सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका छन् । स्व विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, “सहिदको परिवारलाई कांग्रेसले सधँै सम्मान गर्छ ।”

फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाउँदै उनले एमसिसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको छ भने ।

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताएका छन् । उनले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताएका छन् । केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको छ भने । कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्व विक्रम परियार शालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको शालिक निर्माण गर्न लगाएको थियो । व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गरेका थिए । पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

गायन क्षेत्रमा सक्रिय परियारको वि.सं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए । परियारको जन्म वि.सं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *