बागमती प्रदेश

बागमती सरकारले हटायो युवा परिषद् उपाध्यक्ष चौलागाईलाई

हेटौंडा ।बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ। प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले चौलागाईलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृतिबेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप स्वेच्छाचारी गतिविधि गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको जानकारी दिए।

चौलागाईं २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए।यसैगरि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शीत भण्डारसम्बन्धी कार्यविधि र प्रदेश खेलकुद विकास नियमावली पारित गरेको छ।

मन्त्री खनालका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयको सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने पनि निर्णय गरेको छ। बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली हेरफेर, अवैतनिक सल्लाहकार र विज्ञ नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री खनालले जानकारी दिए।

उनले प्रदेशसभाको उपसभामुख अमेरिकामा आयोजना हुने कार्यक्रममा जाने निर्णय पनि गरेको जानकारी दिए। खनालले चैतको २८ गतेदेखि वैशाखको पहिलो सातासम्म हुने कार्यक्रममा आर्थिक व्ययभार नपर्ने गरि जाने निर्णय गरेको बताए। यो निर्णयलाई संघीय सरकारले पनि स्वीकृती दिनुपर्ने हुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *