समाचार

देउवाद्वारा ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गरेका छन्।

पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारे चर्चा गरिएको छ।

लेखक केसीले पुस्तकभित्र आफूले २६÷२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुली समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए।

केसीले पुस्तकमा नेपाली कांग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली कांग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोइरालाले देखाएको समाजवाद र नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा विस्तृत रूपमा उजागर गरिएको बताए। उनले यो पुस्तकबाट नेपाली कांग्रेसका बारेमा धेरै जान्न र बुझ्न सक्ने उल्लेख गरे।

केन्द्रीय सदस्य केसीले भने, ‘यसमा १३ औँ महाधिवेशनसम्म नेपाली कांग्रेसले लिएको कार्यदिशा, बिपी कोइरालाले देखाएको समाजवाद, नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिदेखि नेपाली कांग्रेसलाई लगाइएका विभिन्न आरोपको खण्डन र नेपाली कांग्रेसको झण्डाको महिमाका कुरा नेपाली कांग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यकता ठानेर यो पुस्तक लेखेको हुँ। यसमा नेपाली कांग्रेसका अन्तरंग कथा, समाजवादी चिन्तन, सामाजिक न्यायपद्धतिका बारेमा लेखेको छु।’

पुस्तकमा कांग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदुर संगठन आदि भातृसंस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ।

त्यस्तै आदिवासी–जनजाति, दलित, मधेशी, मुसलमान, सुदूरपश्चिम, मजदुर, किसान आदि वर्ग र समुदायसँग कांग्रेसको सम्बन्धबारे पुस्तकले कांग्रेसको नीति स्पष्ट पारेको छ।

त्यस्तै कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टका नीतिगत खोटलाई लोकतान्त्रिक मूल्य मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, कांग्रेसको मध्यमार्ग, कांग्रेसविरुद्ध चलाइएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिका बारेमा पनि पुस्तकले संक्षिप्त जानकारी गराउने प्रयास गरेको छ।

पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका कांग्रेसका ऐतिहासिक गतिविधि वा घटनाको तिथिमितिसहित उल्लेख गरिएको छ भने पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *