गलेश्वर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीका अभावमा सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला हेर्नेगरी २०७४ सालमा सो कार्यालय स्थापना भएको थियो ।
कार्यालय स्थापना भएदेखि नै कर्मचारीको अभाव हुँदै आएको जनाइएकोे छ । हालसम्म दुईजना मात्रै कर्मचारीले मात्रै सेवा प्रदान गर्नुपर्दा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले बताएका छन् ।
“एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा छन् । एक जना अधिकृत, एक जना प्राविधिक सहायकका भरमा कार्यालय सञ्चालनमा छ”, उनले भने । बजार अनुगमन र खाद्यसम्बन्धी बढी काम गर्ने यस कार्यालयमा कर्मचारी कम हुँदा सेवा प्रवाहमासमेत समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।
कार्यालय प्रमुख श्रेष्ठले आफूहरु धेरैजसो फिल्डमै गएर काम गर्नुपर्ने हुँदा कहिलेकाहीँ कार्यालय खाली नै हुने गरेको गुनासो गरेका छन् । उनले जनशक्ति अभाव हुँदा सोंचेअनुसारको काम गर्न कठिन भएको र कार्यालयको आफ्नै सवारी साधनसमेत नहुँदा तीन जिल्लामा काम गर्न समस्यासमेत भएको बताएका छन् ।
“हाम्रो आफ्नै सवारी साधन छैन, दुईपाङ्गे्र सवारी साधनका भरमै तीन जिल्लामा सेवा प्रदान गर्नुपर्ने अवस्था छ, हामी फिल्डमा निस्केका समयमा सेवाग्राही अनुज्ञापत्र जारी तथा नवीकरण गर्न आएका भने यसै फर्किनुपर्ने अवस्था छ”, उनले भने । जनशक्ति पर्याप्त भएको भए काम पनि प्रभावकारी हुने थियो, सेवाग्राहीले सहजरुपमा सेवा पाउनसक्ने उनको भनाइ छ ।




