राँझा । बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार अभियानअन्तर्गत दैनिकजसोे लागुऔषध कारोबार तथा सेवनमा संलग्नलाई पक्राउ गर्दै आइएको छ । प्राप्त सूचनाका आधारमा बिहीबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
अछाम तुर्माखाँद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्र्षीय प्रेम चलाउने र सोही जिल्लाका पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षीय गौरव विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् । “केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेको थियो”, उनले भने,“लागुऔषधविरुद्धको अपरेसन रोकिदैन । हामी युजरमात्रै होइन, डिलरलाई नै निमिट्यान्न पार्दैछौं ।”
लागूऔषध नियन्त्रण, उपचार तथा परामर्शका लागि जिल्लामा समुदाय– प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरी लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पुर्याउने अभियान सञ्चालन गरिएको नेपालगन्जस्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रस्तरसम्म लागुऔषध बिक्री वितरक तथा प्रयोगकर्ता बढ्दै गएपछि न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । सोही कार्यक्रमका लागि खजुरामा नागरिक सहायता कक्ष स्थापना भइसकेको छ । दुव्र्यसनमा फसेकालाई गाउँपालिकाको सिफारिसमा उपचार तथा परामर्शका लागि नेपालगञ्जमा रहेको परामर्श केन्द्रमा निःशुल्क परामर्श दिइने उनले बताए ।
अध्यक्ष जोशीका अनुसार उक्त कक्षले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पुर्याउने छ । सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श कार्यक्रम अझ अगाडि बढाइने छ ।




