समाचार

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने

काठमाडौं ।नेपालले अफगानिस्तानका नागरिकका लागि औषधी, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिब सेवा लम्सालसहितको टोली आइतवार बिहान हिमालयन एयरलाइन्सको चार्टर उडानबाट काबुल जाने बताइएको छ । नेपाल सरकारले तालिवान नेतृत्वको सरकारलाई मान्यता नदिएका कारण सहसचिब लम्सालले काबुलस्थित संयुक्त राष्ट्रसंघीय अधिकारीलाई मानवीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक रहेको अफगानिस्तान तालिवानले शासनसत्ता सम्हालेपछि संकटमा छ । पाकिस्तानका लागि पूर्वराजदूत रहेकी लम्साल, परराष्ट्रका अधिकारी र केही सञ्चारकर्मीसहितको टोली हिमालयन एयरलाइन्सबाट आइतवार गएर सोही साँझ स्वदेश फर्किने कार्यक्रम रहेके छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले काबुल जाने टोलीलाई आइतवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्री खड्काको आग्रहमा नेपालका उद्योगी व्यवसायीले काबुल पठाउने मानवीय सहायता सामग्री उपलब्ध गराएका छन् । अफगानिस्तानका आधा भन्दा बढी जनसंख्या भोकमारीको चपेटामा परेको अन्तराष्ट्रिय संगठनहरुले भन्दै आएका छन् । छिमेकी भारत, पाकिस्तान लगायत मुलुकले काबुलमा मानवीय सहायता उपलब्ध गराउँदै आएका छन् ।

गत अगस्ट १५ मा अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएपछि अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट बढेर गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *