शिक्षा / स्वास्थ्य

कोरोनाको महामारीका बेला झापामा अक्सिजन पर्याप्त

बनियानी । कोभिड–१९ को महामारीका बेला सङ्क्रमितको उपचारका लागि महत्वूर्ण मानिने अक्सिनज झापामा पर्याप्त मात्रा रहेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा अक्सिनज प्लान्टसँगै अक्सिजन कन्सन्ट्रेटर उपकरण पर्याप्त रहेकाले अक्सिजन पनि पर्याप्त हुनपुगेको हो ।

स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति जीवन चम्लागाईंले जिल्लाका अस्पतालमा अक्सिजन बनाउने उपकरण ‘अक्सिजन कन्सन्ट्रेटर’ पर्याप्त रहेको जानकारी दिए । “जिल्लामा अहिले अक्सिजनको अभाव छैन, प्रायः अस्पतालाले आफूलाई चाहिने अक्सिजन आफैँ उत्पादन गरिरहेका छन्”, उनले भने, “जिल्लाका पालिकामा पनि अक्सिजन उत्पादन गर्ने उपकरण पर्याप्त छन् ।”

मेची प्रादेशिक अस्पतालमा हाल दुई वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्पतालमा दैनिक ३५ सिलिण्डर क्षमताको एक र ११० सिलिण्डर क्षमताको अर्को गरी दुई अक्सिजन प्लान्ट छ ।“अस्पताललाई चाहिने अक्सिनज यहीँ उत्पादन भइरहेको छ”, अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले भने, “दुवै अक्सिजन प्लान्ट पनि एकै पटक चलाउनु परेको छैन, आवश्यकताअनुसार चलाउने गरेका छौँ ।” उहाँले अस्पतालमा अक्सिजन अभाव नरहेको जानकारी दिए ।

विर्तामोडको बिण्डसी, कनकाईलगायत अस्पतालले आफूलाई चाहिने अक्सिनज आफैँ उत्पादन गरिरहेको स्रोत व्यक्ति चम्लागाईंले बताए । हालै दमक अस्पलातमा प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना गरिएको छ ।

दमक नगरपालिका मातहत सञ्चालित अस्पतालमा विश्व बैंकको सहयोगमा प्लान्ट स्थापना गरिएको नगरउपप्रमुख गीता अधिकारीले जानकारी दिए। कनकाई नगरपालिकाले पनि अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पु-याएको छ । नगरपालिकाले रू एक करोड ३० लाखको लागतमा ३६ घनमिटर क्षमताको स्थापना गर्न लागेको अक्सिजन प्लान्टको काम पनि अन्तिम चरणमा पुगेको छ । “बोलपत्र भइसकेको छ”, नगरप्रमुख राजेन्द्र पोखरेलले भने, “चाँडै प्लान्ट सञ्चालन आउँछ ।”

कोरोना महामारीका बेला जिल्लामा एकका लागि एक अभियानले समेत अक्सिजन बैंक स्थापना गरेर चाहिएकालाई अक्सिजन उपलब्ध गराउँदै आइएको छ । जिल्लामा पछिल्लो समय दैनिकजसो कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पुस २४ गते ५, २५ गते ११, २६ गते २६, २७ गते १९ र २८ गते ३१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

मेची प्रादेशिक अस्पतालमा सञ्चालित पिसिआर परीक्षणमा दैनिकजसो ८÷९ सङ्क्रमित देखिन थालेको छ । सूचना अधिकारी पोरखेलले भने, “यसअघि परीक्षण गर्दा पहिले एकजना पनि सङ्क्रमण देखिँदैन थियो भने केहीसमयदेखि एक/दुई जनामा देखिदै आएको थियो तर अहिले झन बढ्न थालेको छ।”

कोरोना सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले नौ बुँदे सूचना जारी गरेको छ । पुस २७ गते कार्यालयले कोरोना रोकथाम एवं नियन्त्रणका लागि सूचना जारी गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम नगर्न र २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न/नगराउन निर्देशन दिएको छ ।

सार्वजनिक स्थान (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रङगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा वा फोटो कपि ) साथमा राख्नुपर्ने र सम्बन्धित निकायले पनि खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था आगामी माघ ७ गतेदेखि लागू गर्न निर्देशनमा भनिएको छ । उक्त दिनदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्ने र सोको प्रचारप्रसारका लागि सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, सङ्घ संस्था र स्थानीय सञ्चारमाध्यमलगायत सबैमा अनुरोध गर्ने, नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने पनि जिप्रकाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *