समाचार

चौबीसौँ भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा

काठमाडौँ । वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको आज सहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।

यो दिवस मनाउन थालेपछि वि.सं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

छ वर्षअघिको भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण जारी छ । पुनःनिर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे अवधि सकिए पनि पुनःनिर्माण भने सकिएको छैन । सम्बन्धित विभागबाट क्षति पुगेका संरचनाको पुनःनिर्माण जारी छ ।

भूकम्पले भवन भत्किएर क्षति नपुगोस् भनी जनचेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । पत्रकार सम्मेलनमा विभागका महानिर्देशक पद्मकुमार मैनालीले पश्चिम नेपालमा ५०० वर्षअघिदेखि ठूलो भूकम्प नगई शक्ति सञ्चय भएकाले त्यस क्षेत्रमा बढी चेतना जगाउन आवश्यक भएकामा जोड दिएका छन् । दाङबाट पश्चिमका जिल्लामा निर्माण हुने संरचनामा विशेष ध्यान दिएर विभागले काम गरिरहेको उनले जानकारी दिएका छन् ।

भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका महानिर्देशक मैनालीले तीनै तहका सरकार मानिसको जीवन रक्षाका लागि जनचेतना जगाउन लागिपरेको बताएका छन् । चेतना जगाउने उद्देश्यअनुरूप वि.सं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ ।

भूकम्पले भवनमै क्षति पुग्ने र त्यसले मानिसको जीवन लिने भएकाले दिवसका माध्यमबाट चेतना जगाउन विभाग लागिपरेको उपमहानिर्देशक रामचन्द्र दङ्गालले बताए । दिवसको मूल कार्यक्रम यस वर्ष पाटन दरबार क्षेत्रमा गरिने भएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वले सम्बोधन गर्नुहुने भएको छ । गत वर्ष भक्तपुर दरबार क्षेत्रमा यो दिवसको कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भोजराज खतिवडाले सरकारले कोरोनाको नयाँ स्वरूप ओमिक्रोनबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर पाटन दरबार क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले ४० वर्ष अघिदेखिका भूकम्पका अभिलेख रहेको जानकारी दिएका छन् । यसको अध्ययन अनुसन्धानबाट काम गरिरहेको जानकारी उनले दिएका छन् ।

उपसमितिको सदस्य सचिवसमेत रहनुभएका राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल (एनसेट) का निर्देशक डा.गणेश जिमीले दिवसको तयारी अन्तिम चरणमा पुगेको बताए । यस अवसरमा पुस १५ गतेदेखि नै विभिन्न चेतनामूलक कार्यक्रम सुरु भइसकेको छ । आगामी माघ १५ गतेसम्म दिवसका कार्यक्रम देशभर गरिने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *