समाचार

सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौँ । नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान प्रकट गरेका छन् । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनिप्रति पुष्पगुच्छा अर्पण गरेका छन् ।

वि.सं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका हुन् ।

आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।

दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।

राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना गर्यो ।

सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पुर्याएर विसर्जन गरियो । सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हँुदै सोमबार हनुमानढोका आइपुगेको थियो । प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *