खोटाङ । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बिच पार्टी एकीकरण भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबिच एकीकरण भएको घोषणा गरेका छन् ।
गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्व सांसद कुलप्रसाद शर्मा फुयाँल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबिच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ ।
फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुयाँलबिच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो ।
माले छाडेका पूर्व सांसद फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका जिल्ला सचिव राजन आचार्यले जानकारी दिए ।
यसैबिच एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तहमा सङ्गठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चार स्थानीय तहमा सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए।
एकीकृत समाजवादीले जन्तेढुङ्गा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो सङ्गठन विस्तार एवं कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ ।
सङ्गठन विस्तार तथा कार्यालय स्थापनाका लागि जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य चाम्लिङ, सह इन्चार्ज वीरबलकाजी राई, प्रदेश समिति सदस्य उदयबहादुर कार्कीलगायत नेता भूगोलमा खटिएका छन् ।
क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक समृद्ध राईले आफ्नो जन्मदिनको अवसरमा गरिने खर्च क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् ।
काठमाडौँको विद्या संस्कार (साविकको चेल्सी इन्टरनेशनल स्कुल)को कक्षा–३ मा अध्ययनरत समृद्धले आठ वर्ष पूरा गरी नौ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जिपी मेमोरियल कलेज चाबहिल काठमाडौँका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद रु आठ हजार आर्थिक सहयोग गरेका हुन्।
काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइरहेका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित समृद्धले आर्थिक सहयोग गर्दै जन्मदिन मनाएको आमा रिङ्कु राईले जानकारी दिए । बालक राईले उपेन्द्रनाथ तिम्सिनामार्फत क्याम्पस प्रमुख राईकी श्रीमती शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।




