दार्चुला।नेपाली कांग्रेस दार्चुलाको ७औँ जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व छनोट हुन नसकेपछि निर्वाचनको प्रक्रियामार्फत नयाँ नेतृत्वको टुंगाे लाग्ने भएको छ । ४२ सदस्यीय जिल्ला कार्यसमितिका लागि ६९ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत देवराज अवस्थीले बताए ।
सभापति पदका लागि वर्तमान पार्टी सभापति ललितसिंह बोहरा र शैल्यशिखर नगरपालिकाका नगरप्रमुख एवं पार्टी उपसभापति अमरसिंह धामीले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा आठ, सचिव पदमा ६, सहसचिवमा चार, सदस्यमा २७ जना, सदस्य खस आर्यतर्फ १४, महिला सदस्यतर्फ तीन, दलित सदस्यतर्फ दुई, आदिवासी जनजाति सदस्यतर्फ एक तथा अल्पसंख्यक-अपांगता सदस्यतर्फ दुई जनाले मनोनयन दर्ता गराएको अवस्थीले जानकारी दिए ।
सभापतिमा एक, उपसभापतिमा दुई, सचिवमा दुई, सहसचिवमा दुई, जिल्ला कार्यसमिति सदस्य खुला पदमा २० जना, खस आर्य सदस्यमा सात, महिला सदस्यमा चार, दलित सदस्यमा दुई, आदिवासी सदस्यमा एक तथा अपांगता-अल्पसंख्यक सदस्यमा एक गरी ४२ जना चयन हुनेछन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लािग ५९ जनाले मनोनयन दर्ता गराएका छन् । महिला प्रत्यक्षबाट पाँच, खुला पुरुषबाट २५, खस आर्य महिला समानुपातिकबाट आठ, खसआर्य खुल्ला समानुपातिकबाट १४, दलितबाट एक, अपांगता-अल्पसंख्यकबाट ६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पदमा २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । काङग्रेस दार्चुलाको ७ औँ महाधिबेशनको मंगलबार उद्घाटन गरिएको थियो । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिन लागेको हो । निर्वाचन बिहीबार बिहान ९ देखि बेलुकी ५ः३० बजेसम्म तोकिएको छ ।




