राजनीति

एमाले महाधिवेशनकाे दुई दिन अघिसम्म पनि महोत्तरीमा प्रतिनिधि चयन विवाद मिलेन

महोत्तरी।नेकपा एमालेको १०‌औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेकाे छैन । महाेत्तरीकाे निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेकाे हाे ।

निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महत्ताेलाई सर्वसम्मत प्रतिनिधि चयन गरेकाे एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।

जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । ‘सबैसँग सल्लाह गरेर नै सर्वसम्मतीमा नाम पठाइएको हो अहिले साथीहरूले विवाद गरिरहेका छन्,’ उनले भने । अर्काे पक्षले भने इन्चार्ज बलाम्पाकीले कोठे निर्णय गरेको आरोप लगाएका छन् । उनकाे निर्णयमा असहमति हुँदाहुँदै जबर्जस्ती पेलेर जान खोजेकाे उनीहरूकाे आराेप छ ।

इन्चार्ज बलाम्पाकीले पठाएको नामलाई भने निर्वाचन आयोगले सदर गर्दै निर्वाचित भएको प्रमाणपत्र पठाएको छ । प्रमाणपत्र पाएपछि प्रतिनिधिहरूले धमाधम फेसबुकमा आफू निर्वाचित भएको घोषणा गरिरहेका छन् । अध्यक्ष रामदयाल मण्डलले कार्डलाई लिएर उत्सव नमनाउन आग्रह गर्दै उक्त कार्ड वैधानिक नभएको बताएका छन् ।

माओवादी केन्द्रबाट एकता प्रक्रियामा नेकपा एमाले रोजेका टेकबहादुर बलाम्पाकीले सहमति जुटाउन नसकेपछी आफुखुसी नाम राखेर पठाएको नेताहरूको आरोप छ । ‘बलाम्पाकीले कतिपय संगठनमा आबद्ध नभएका व्यकि्तलाई समेत प्रतिनिधि चयन गरेकाेमा हाम्रो असहमति छ,’ नेता सन्त परियारले भने । प्रतिनिधि चयन भएको भन्दै प्रमाणपत्र जारी गर्ने जिल्लामा गठन गरिएको निर्वाचन आयोगप्रति पनि रामदयाल पक्षले आपत्ती जनाएका छन् । केन्द्रबाट छनोट भएको निर्वाचन अधिकृतले प्रमाणीकरण गर्नुपर्नेमा जिल्लाबाट निर्वाचन समितिका उद्धव क्षेत्रीले मनपरी ढङ्गले वितरण गरेको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *