समाचार

६ विद्यार्थी संगठनले प्रधामन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्त लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्तरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने जबाफ दिएको अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरुलाई आश्वस्त रहन आग्रह गरेका थिए । सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले बताइन् ।

ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही ,मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *