समाचार

प्रदेश नं १ मा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना : मन्त्री खड्का

मोरङ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिएका छन् । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा (‘प्याकेज)मा निर्णय गरिने बताए ।

उनले प्रदेश नं १ र वाग्मतीमा आधा÷आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिएका छन् । मन्त्री खड्काले नेकांको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए ।

मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए । एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए ।

उनले बेमौसमी वर्षाका कारण आएको बाढीपहिराबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपक्षी क्षतिको तथ्याङ्क सङ्कलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *