समाचार

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिएका छन् । उनले भने“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ”

जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा उनले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गरेका छन् । उनले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिएका छन् ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिएका छन् । जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेका अवस्था रहेको बताए । उनले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताए ।

जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनको भनाइ छ । सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *