समाचार

सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट बुधबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरु, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण लक्षित विषयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनिती तयार गरी अगाडि बढ्न समेत निर्देशन दिए। ड्युटी गर्ने शिलशिलामा आफ्नो ज्यानको बारेमा सजग हुन आग्रह गर्दै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुका साथै आर्थिक पारदर्शिता तथा शुन्य सहनशीलता नीति अनुरुप कार्य सम्पादन गर्न उनले बताए ।

आफूले सम्पादन गर्नुपर्ने जिम्मेवारी परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोग गर्नुका साथै कोभिड-१९ को जोखिमलाई मध्येनजर गर्दै आफ्नो र मातहत कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधानी अपनाई जिम्मेवारी वहन गर्न समेत उनले बताए । स्थानीयस्तरबाट प्रहरीको भौतिक संरचना, सिसिटिभि जडान जस्ता कार्यक्रममा स्थानीयतह, जनप्रतिनिधिहरु र संघसंस्थासँग समन्वय गरी ट्राफिक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गरी कार्य प्रगति प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *