समाचार

गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताए ।

मन्त्री श्रेष्ठले जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न भएको अहिलेको परिस्थितिलाई निर्वाचनले हल दिनसक्ने भएकाले ताजा जनादेशमा जान सबै राजनीतिक शक्तिहरु तयार हुनुपर्ने बताए । सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको उल्लेख गर्दै उनले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने भएकाले निर्वाचनमा जुट्न दलहरुसँग आग्रह गरे ।

नेकपाभित्रकै केही नेताहरुको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउनुहुँदै उनले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गरे ।

यसैबीच अनेरास्ववियुको भेलाले सुदन कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *