काठमाडौं । घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्रअन्तर्गत ढल्केवर नो लाइट शाखा धनुषामा कार्यरत ४ जना कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।
पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतो पक्राउ परेको अख्तियारले जनाएको छ ।
नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिवासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट लिएको पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।




