समाचार

भरतपुर महानगरले प्रधानमन्त्री ओलीको कार्यक्रम बहिष्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली शनिबार चितवनको भरतपुर जाँदैछन् । ओलीले भरतपुरमा निर्माणाधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास गर्ने कार्यक्रम छ । तर, प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम बहिष्कार गर्ने निर्णय भरतपुर महानगरले गरेको छ ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी महानगरले शनिबार प्रधानमन्त्री ओलीले गर्ने शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । आफूहरुको समन्वयबिनै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेणु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागी पनि हुँदैन,’ दाहालले भनिन् ।

महानगरसँग कुनै समन्वय र सहकार्य नगरी शिलान्यासको तयारी गरिएकोमा उनले आपत्ति जनाइन् । ‘महानगरलाई निषेध गरेर संघीयताको मूलमर्मविपरीत केन्द्रीकृत शासनको झल्को दिनेगरी संघीय सरकारले गम्भीर विभेद गरेको छ, स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको महसुस गरेका छौं,’ उनले भनिन् ।

उनले मंसिर १४, २७ र पुस १० गरी तीनपटक शिलान्यासको मिति सारिएको भन्दै अहिले निर्माण कार्य सुरु भएको दुई महिनापछि शिलान्यास गर्न लागिएकोप्रति आपत्ति प्रकट गरिन् ।

प्रधानमन्त्री ओलीले पटक पटक रेणु दाहालले मेयर जितेकामा आक्रोश व्यक्त गर्दै आएका छन् । रेणु प्रचण्डकी छोरी हुन् । प्रचण्डले मतपत्र च्यातेर छोरीलाई जिताएको भन्दै ओलीले भाषण गर्दै हिँडेका छन् । नेकपा विभाजनपछि रेणु दाहा प्रचण्ड समूहमा छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *