जनकपुरधाम ।दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन्। सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनले विगत १० वर्षदेखि नङ पाल्दै आएका छन्।
लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औंलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ। विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।
देश, प्रदेश र स्थानीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक १५ हजार रकम सहयोग गरिरहेको छ । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्ष अघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गर आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउँछन् ।
जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवर्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।
उनी भन्छन्, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल चार लाख पुगेको छ।”




