चितवन । जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मंगलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीत बहादुर भण्डारीले जानकारी दिए।
उनकाअनुसार जरिवाना तोकिएका व्यावसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नम्बर २ मा रहेको नेसनल ट्रेड बिजनेस, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनियरिङ इन्टरप्राइजेज र वडा नम्बर ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।
यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नम्बर २ को एसएच ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।




