समाचार

भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी

भादगाउँ । प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बैठक बसी निर्वाचनको तयारी शुरु गरेको हो ।

बैठकले भक्तपुर नगरपालिका–६ का दुई मतदानस्थललाई एकै स्थानमा सार्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । साविक वडा नं ५ कार्यालय र बालबोध शान्ति माध्यामिक विद्यालय चोछेंको भवन सानो भएकाले दुईवटै मतदानस्थलका मतदातालाई पायक पर्ने स्थान भक्तपुर नगरपालिका–६ स्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका–२ को मतदानस्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले जानकारी दिए । बैठकले भक्तपुर नगरपालिकाकै वडा नं ५ को मतदानस्थल बरदायणी मावि भवगतीस्थानको भवन साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलका रुपमा कायम गर्न आयोगमा सिफारिस गरेको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिका–५ को मतदानस्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएकोले सोही वडाको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ । बैठकले मध्यपुरथिमिका पनि दुई मतदानस्थललाई स्थानान्तरण गर्न आयोगमा सिफारिस गरेको छ ।

मध्यपुरथिमि वडा नं ९ स्थित हेल्थपोष्ट थिमि मतदानस्थल साँघुरो भएको हुँदा सोही वडामाको कृषि विकास बैंकको तालीम केन्द्र र वडा नं ३ को मतदानस्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ ।

यसैगरी भक्तपुरमा करीब सात हजार ५०० मतदाता थपिने भएको छ । भक्तपुरमा साविकमा एक लाख ७८ हजार ९९ मतदाता रहेकोमा आगामी निर्वाचनमा एक लाख ८५ हजार ५९१ पुग्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुनुपर्ने मापदण्डका कारण भक्तपुरमा आगामी निर्वाचनमा मतदान केन्द्र थपिने भएको छ । साविकमा भक्तपुरमा २०९ मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ६ केन्द्र थपिने छ । भक्तपुरमा मतदानस्थल भने घट्नेछ । भक्तपुरमा यसअघि ७८ मतदानस्थल रहेकोमा भक्तपुर नगरपालिका– ६ को दुई वटा मतदानस्थललाई एउटै कायम गर्ने निर्णयसँगै मतदानस्थल घट्ने जिसीले बताउनुभयो ।

भक्तपुरमा सबैभन्दा बढी मतदाता मध्यपुरथिमि–३ कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालय मतदानस्थलमा छ । त्यहाँ पाँच हजार १७८ मतदाता छन् । त्यसैगरी सबैभन्दा कम चाँगुनारायण नगरपालिका वडा नं २ स्थित आजाद मावि नाप्लामा ९४७ मतदाता छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *