मुख्य समाचार

वामदेवले माघ १४ गते पार्टी एकता अभियान घोषणा गर्ने

काठमाडौं । नेकपाका एकताको पक्षमा रहेका उपाध्यक्ष वामदेव गौतमले १४ माघमा एकता राष्ट्रिय अभियानको घोषणा गर्ने जनाएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको घोषणा गर्ने भएका हुन् ।

गौतमले सोही दिन आफूले लेखेका दुईवटा पुस्तकको विमोचन पनि गर्ने र एकता राष्ट्रिय अभियानको घोषणा समेत गर्ने गरी तयारी गरेको गौतम निकट एक नेताले जानकारी दिए । उनले अहिले आफू कतै नलाग्ने भन्दै दुवै खेमालाई एकताको अपिल गरिरहेका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले संसद विघटन र अर्का अध्यक्ष पुष्पकमल दाहालले अविश्वास प्रस्ताव दर्ताको प्रयास गरेपछि सत्तासीन दल नेकपा दुई खेमामा विभाजन भएको छ ।

अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले आ–आफनो समूह आधिकारिक भएको भन्दै निर्वाचन आयोग, सर्वाेच्च अदालतदेखि वडा स्तरसम्मै नेता–कार्यकर्तालाई धुव्रिकृत बनाउने गरी अगाडि बढिरहेका बेला गौतमले तीन साता अगाडिमात्रै वक्तब्य जारी गरेरै एकताको अपिल गरेका थिए । पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोष्टर छापेर बाँड््न गौतमले यस अगाडि अपिल गरेका थिए । ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ,’ गौतमले त्यसबेला जारी गरेको वक्तब्यमा भनिएको थियो । उनले आफनो समूहमा रहेका कतिपय नेता नवौं महाधिवशेनबाटै केपी ओलीतिर आफूलाई छोडेर लागिसकेको र कतिपय नेताहरु अहिले उनीभन्दा अगाडि नै प्रचण्ड नेपाल समूहमा लागिसकेका कारण उनी अहिले एक्लो जस्तै देखिएका थिए ।

पार्टीका शीर्ष नेताहरुका कारण पार्टी विभाजनको अवस्थामा पुगेपनि कार्यकर्ताको तहमा एकताको भावना अझै रहेकोले उनले त्यसैलाई समातेर आफूले पुनः नयाँ रुपमा गुट ब्यूताउने योजनाका साथ यो अभियान चलाउन लागेको पनि बताइएको छ । अहिले गौतमलाई उनको टिमका हरि पराजुलीले मात्र साथ दिइरहेका छन् । बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार गठन गर्न सक्नु, सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पिडादायी भएको भन्दै गौतमले पुनः नेकपा एकता गर्ने गरी आफू जुटेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *