समाचार

माधव–प्रचण्ड समूहलाई पदाधिकारी छान्न सकस

काठमाडौं । नेकपा नेपाल –प्रचण्ड समूहमा पदाधिकारी छान्न सकस परेको छ । अध्यक्ष माधव नेपाल संयोजकत्वमा बनेको एकता कार्यदलले पूर्व एमाले र पूर्व माओवादीलाई पार्टी एकताकै अवस्थामा रहेको पोर्टफोलियो दिनेगरी बनाइएको मापदण्डले पदाधिकारी छान्न सकस परेको हो ।

पूर्वएमालेबाट पार्टी उपाध्यक्ष, महासचिवसहित बहुमत सचिवालय सदस्य रहेका कारण पूर्वमाओवादीलाई पनि पदाधिकारी दिनुपर्ने आवाज उठेपछि मापदण्डअनुसारको पदाधिकारी छनोटमा सकस परेको हो ।

सो समूहको स्थायी समिति बैठक पेरिसडाँडामा बसे पनि पदाधिकारी छान्न सकेको छैन । ओलीगमनको विरुद्ध सुरु गरेको सडक संर्घषको दोस्रो चरणका कार्यक्रम सशक्त बनाउने र आगामी माघ ९ गते र १६ गते काठमाडौंमा हुने विरोध सभामा एक लाख मानिसको उपस्थिति गराउने विषयमा स्थायी समिति बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । यसअघिको बैठकमा ओलीलाई सोधिएको स्पष्टिकरण र महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णयलाई औपचारिता दिने तयारी भएको छ ।

बैठकमा नियमित एजेण्डा रहेको स्थायी कमिटी सदस्य बेदुराम भूषालले बताए । बैठकमा प्रधानमन्त्री केपी ओलीको पक्षको रणनीतिका बारेमा पनि समीक्षा गर्दै ओलीलाई थप अनुशासनको कारबाही गर्ने विषयमा पनि केन्द्रित हुने बताइएको छ । यसको संकेत हिजोकै एक सार्वजनिक कार्यक्रममा अध्यक्ष माधव नेपालले गरिसकेका छन् ।

त्यस्तै अबको बैठकमा नेताहरुको कार्यविभाजन, पार्टी एकताका बाँकी कामहरुको पूर्णतालगायतका विषयमा पनि अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलको रिपोर्टका आधारमा छलफल हुनेछ । कार्यदलले आजको स्थायी समितिमा योसम्बन्धी रिपोर्टमा पनि छलफल राख्ने तयारी पनि छ ।

हिजोको छलफलमा प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा बिफ्रिड गरेका थिए भने अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन बुझाएका थिए । नेकपाको यो समूहले राजधानीमा एउटा ठूलो आमसभा गरेको भए पनि त्यसपछि भने राजधानी भेलाबाहेक केही गरेको छैन ।

यो समूहमा घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वर्षमान पुन महासचिवको दाबेदार छन् । नारायणकाजी श्रेष्ठ, भीम रावललगायतलाई उपाध्यक्ष बनाइने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *