काठमाडौं । वैशाखमा आमनिर्वाचन हुने चर्चासँगै विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेशको लहर चलेको छ । यस्तै लहर ओखलढुंंगा लिखु गाउँपालिका–२ हुलाक चौरमा पनि देखियो ।
मंगलबार आयोजित कार्यक्रममा नेकपाका शक्तिशाली नेताहरूको टोली कांग्रेस प्रवेश गरेका छन् । ओखलढुंगा प्रदेश क्षेत्र–२ सांसद मोहन खड्काका दाजु चन्द्रबहादुर खड्कासहित ३७ जना कांग्रेस प्रवेश गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद तथा कांग्रेस नेता रामहरि खतिवडाले आफैले भोट नहालेकाले गत चुनावमा कांग्रेस हारेको बताए । ‘गठबन्धनको नाममा दुई तिहाइको सरकार नजिक भएर पनि कम्युनिस्टले तीन वर्ष पनि राम्ररी सरकार चलाउन सकेनन्, अहिले एकले अर्कोलाई भ्रष्टाचारी, हत्यारा भन्दै उफ्रिराछन,’ खतिवडाले भने, ‘राणा र राजा फालेर देशलाई संविधान दिएको कांग्रेसले देशलाई अब सही बाटोमा हिँडाउनेछ ।’
जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको खतिवडाले बताए । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ,’ खतिवडाले भने, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ ।
नवप्रवेशी चन्द्रबहादुर खड्काले कम्युनिस्टले राज्य चलाउँदा अराजकतासँग दिक्क भएर नेपाली कांग्रेस प्रवेश गरेको बताए । कांग्रेस जिल्ला पार्टी सभापति प्रदिपकुमार सुनुवारले कम्युनिस्टहरु जालझेल गर्न सिपालु भएकोले ढाटेर झेली गरेर जितेको आरोप लगाए ।





