समाचार

बस्न्यातलाई थुना पठाउने आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौ । सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले सोमवार दीप बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धी विशेष अदालतबाट भएको आदेशको प्रतिवेदन मागेको हो । कैफियत प्रतिवेदनमा विशेष अदाललते गरेको सक्कल निर्णय, अख्तियारको अभियोगपत्रलगायतका मुद्दासँग सम्बन्धित कागजात हुने गर्दछ ।

विशेष अदालतको आदेशको आधार,कारण सहितको कैफियत प्रतिवेन हेरेपछि मात्रै सर्वोच्चले बस्न्यातलाई थुनामै राख्नुपर्ने वा साधारण तारेखमा राखेर मुद्दा लड्न पाउने भन्ने आदेश जारी गर्नेछ । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा लगेको अभियोगमा अख्तियारले मुद्दा चलाएपछि बस्न्यात थुनामा रहेका छन ।

विशेष अदालतले बस्न्यातलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध बस्न्यात साधरण तारिखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी सर्वोच्च पुगेका हुन । बस्न्यातले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवका रुपमा काम गर्दा सरकारी जग्गा व्यक्तिको नाउमा नामसारी गर्न भूमिका खेलेको भन्दै आयोगले मुद्दा अघि बढाएको हो ।

उनीविरुद्ध ९ करोड ३५ लाख बिगो दाबी गरिएको छ । गत वर्ष माघ २३ गते आयोगले बस्नेतसहित १७५ जनाविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *