एजेन्सी । पोर्चुगलकी एक महिलाको कोभिडविरुद्धको फाइजर भ्याक्सिन लगाएको दुई दिनमै मृत्यु भएको छ । भ्याक्सिन लगाएपछि उनमा साइड इफेक्ट भने देखिएको थिएन ।
४१ वर्षकी ती महिला स्वास्थ्यकर्मी रहेको डेलीमेलले जनाएको छ ।
फाइजरको भ्याक्सिन लगाएको करिब ४८ घण्टापछि नयाँ वर्षको दिन सोनिया एकेभेडोको मृत्यु भएको हो । दुई सन्तानकी आमा सोनिया पोर्तोको पोर्चुगिज इन्स्टिच्युट अफ ओंकोलोजीमा काम गर्थिन् ।
सोनियाका बाबु अबिलियो एकेभेडोका अनुसार उनी पूरै ठिक थिइन् । उनलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्या थिएन । पोर्चुगलको अस्पतालले पनि ३० डिसेम्बरमा सोनियालाई भ्याक्सिन लगाइएको पुष्टि गरेको छ । भ्याक्सिन लगाएपछि सोनियाको तर्फबाट अस्पताललाई कुनै पनि किसिमको साइड इफेक्टको जानकारी दिइएको थिएन ।
भ्याक्सिन लगाएपछि सोनियाले फेसबुकमा फोटो पोस्ट गरेकी थिइन् र कोभिड १९ को भ्याक्सिनेसन भएको लेखेकी थिइन् । सोनियाकी छोरीका अनुसार उनलाई आमाले भ्याक्सिन लगाएको ठाउँमा सामान्य दुखाइ भएको बताएकी थिइन् ।
पोर्चुगलमा सोनियासँगै करिब ५३८ स्वास्थ्यकर्मीलाई फाइजरको भ्याक्सिन दिइएको थियो । भ्याक्सिन लगाएपछि मृत्यु भएको यो घटनाबारे स्वास्थ्य मन्त्रालयलाई पनि सूचित गरिएको छ ।




