समाचार

वाग्मती किनारमा फोहर फाल्नेबाट २३ हजार जरिवाना

काठमाडौं । राजधानीको सभ्यताको स्रोत बागमती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारबाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, बागमती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

मनोहरा दोभानबाट आलोकनगरसम्म फोहर फाल्ने राजकुमार शर्मा रु एक हजार, मीना केसी रु पाँच हजार, बेखालाल तण्डुकार रु एक हजार, दीपेन्द्र बस्नेत रु पाँच हजार, रत्नकाजी श्रेष्ठ रु पाँच हजार, सुमन इन्टरप्राइजेज रु पाँच हजार, कुकुर क्याफे रु एक हजार गरी जम्मा रु २३ हजार जरिवाना गरिएको छ । जरिवाना गरिएको रकम महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको सफाइ महाअभियानले जनाएको छ ।

बागमती सफाइ महाअभियानको ३ सय ९८औँ हप्तामा बागमती मनोहरा दोभान आर्ट अफ लिभिङले बनाएको बगैँचाअघिको शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । प्रमुख अभियानकर्मी, पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल, अधिकारसम्पन्न बागमती समितिका अध्यक्ष उद्धब तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको सफाइमा सक्रियता थियो । सशस्त्र प्रहरी टोली, अभियानकर्मीलगायतले १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

फोहरको मूल स्रोतमै न्यूनीकरण गनुपर्ने, फोहरलाई वर्गीकरण गरी फाल्नै पर्नेलाई मात्रै फालौँ, फोहरलाई मोहर बनाउनुपर्नेमा पनि अभियानकर्मीले जोड दिनुभएको छ । अर्को शनिबार बिहान ८ बजे ३ सय ९९औँ हप्ताको सफाइ बानेश्वर क्याम्पसअघिको नदी किनारमा सफाइ गरिने जनाइएको छ ।

बागमती नदी तिलगङ्गा खण्ड सफाइको २ सय ७९औँ हप्तामा महिला समूह र बतास फाउन्डेसनले यस क्षेत्रमा सफाइ गरेका छन् । जनचेतनामूलक कार्यक्रमसँगै नदीको फोहरसमेत उठाएर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइको १ सय ९७औँ हप्तामा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित जडिबुटी–मनोहरा कृषि बजारअघि सफाइ गरिएको छ । सत्तरी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी, राजधानीका गुह्येश्वरीमाथिको बागमती, रुद्रमती, विष्णुमती, उत्तर र पश्चिम क्षेत्रको चक्रपथलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएपछि देशभर १ सय ६ स्थानमा सफाइ अभियान सुरु भएको छ । कोरोना महामारीका कारण नदी किनारमा निवास भएका अभियानकर्मीले नदीमा गएर र अरुले टोल सफाइ अभियानलाई निरन्तरता दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *