समाचार

प्रचण्ड निवासमा वामदेवको गुनासो, पार्टी बचाउन सकिएन

ललितपुर । नेकपा नेता वामदेव गौतम शनिबार बिहान खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । संसद् विघटन र पार्टी विभाजनपछि कतै नखुलेका गौतम शनिबार बिहान ४५ मिनेट प्रचण्डसँग कुराकानी गरेर भैंसेपार्टी फर्केका हुन् ।

वामदेव खुमटार पुग्दा प्रचण्डसँग माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ छलफल गरिरहेका थिए । प्रचण्डसँगको भेटमा गौतमले केही गरेर पनि पार्टी विभाजन रोक्न नसकिएको भन्दै गुनासो गरेको स्रोतले बताएको छ । गौतमले पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल गरेका थिए । पार्टी एकताका लागि अझै पनि पहल गर्नुपर्ने भन्दै एकले अर्कालाई सिध्याउँदा आफूहरु समस्यामा पर्नेतर्फ नेताहरुलाई गौतमले सचेत गराएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिनअघि कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।

तर, बालुवाटार स्रोतले भने गौतम केही दिनभित्रै ओली नेकपामा जाने तयारी गरेका छन् । प्रचण्ड नेपाल समूहमा जाँदा आफूले खोजेको ठाउँ नपाउने भन्दै उनी ओली नेकपा गएर उपाध्यक्ष खाने र अध्यक्षका लागि तयारीमा लाग्ने मनस्थितिमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *