काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । ८० वर्षीय प्रजातन्त्र सेनानी श्रेष्ठको उपचारका क्रममा आज काठमाडौं मोडेल अस्पतालमा निधन भएको हो ।
कांग्रेसले श्रेष्ठको संझनामा २०७७ मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । यसैगरी मंसिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन ।स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने जनाइएको छ ।
मंसिर २९ गतेका लागि पूर्व निर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहने मुख्य सचिव पौडेलले जनाएका छन ।
स्वर्गीय श्रेष्ठ पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठ वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ पर्नु भएको थियो । नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन÷संघर्षका क्रममा उहाँले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताउनु भएको थियो । ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उहाँ सदस्य हुनुहुन्थ्यो ।
स्वर्गीय श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनु भएको थियो । वि.सं. २०७२ मा उहाँलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो । स्वर्गीय श्रेष्ठको एक छोरा र तीन छोरी हुनुहुन्छ ।
लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने अत्यन्त सरल र शालिन व्यक्तित्व श्यामलाल श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण
गरेको छ ।




