समाचार

सामुदायिक भवन निर्माण सम्पन्न

रसुवा । धुन्चेस्थित रसुवा उच्च माध्यमिक विद्यालयको छात्रावास हाताभित्र बहुउद्देश्यीय सामुदायिक केन्द्रको भवन निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिकाको समन्वयमा जनताबाट जनताका लागि सहयोग पुर्नलाभ, पुनर्निर्माण उत्थानशील सामुदायिक निर्माण परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय अप्रवासन सङ्गठन (आइओएम) नेपाल नामक संस्थाको रु ९८ लाखको लागतमा भवन निर्माण भएको हो ।

दैवी विपद्‌बाट असहज भएको अवस्थामा नागरिकलाई सुरक्षित बासको व्यवस्था गर्न तथा अन्य सामाजिक क्रियाकलापमा भवनलाई उपयोगमा ल्याइने रसुवा उच्च माविका प्राचार्य तेम्पारिसाङ धलेले जानकारी दिए । एउटै हलका रुपमा निर्माण गरिएको सो भवनमा करिब एक सय व्यक्ति अट्ने र महिला तथा पुरुष एवं अपाङ्गता भएका व्यक्तिलाई छुट्टाछुट्टै शौचालय तयार भएको छ ।

नवनिर्मित भवनको बुधबार गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले उद्घाटन गरे । सो अवसरमा आइओएमका प्रमुख लोरेना ल्यान्डोले विपद्‍मा परेका नागरिकको सहयोगका लागि थाइल्यान्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक केन्द्र भवन निर्माण भएको र यस्ता भवन रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र दोलखा जिल्लामा समेत निर्माण सम्पन्न गरिएको जानकारी दिए ।

यस्तै गोसाइँकुण्ड गाउँपालिकाले वडा नम्बर ६ क्षेत्रमा त्रिशूली खोलाबाट धुुञ्चेसम्मको मोटरबाटो, खेलमैदान, सभासम्मेलन गर्ने मञ्च, धुञ्चेस्थित टुल्कूछेलिङ गुम्बाको छेउमा शङ्खपार्क, गुम्बाको आयआर्जनका लागि व्यावसायिक भवन निर्माण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *