काठमाडौँ । रवीन्द्र मिश्रको साझा पार्टी र मिलन पाण्डे नेतृत्वको विवेकशील नेपाली दलबीच फेरि एकता हुने भएको छ । २३ महिनापछि दुवै दल एकीकृत हुन लागेका हुन् ।
यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । आज दिउँसो ३ बजे एक कार्यक्रमबीच पार्टी एकता घोषणा हुनेछ ।
सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो । दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।
यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ । साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् ।




