काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीति ल्याएको छ । पहिलोपटक लिपिबद्ध रूपमा जारी गरिएको उक्त नीतिमा सार्वजनिक कूटनीतिअन्तर्गत नेपाललाई प्राग ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोबास स्थल, प्राचीन ज्ञान भूमि एवं पूर्वीय दर्शन र अध्यात्मको उद्गमस्थलका रूपमा विश्वसामु उजागर गर्ने उल्लेख गरिएको छ ।
परराष्ट्र नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ सो नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।
‘सुरूमा भन्दा अहिले विश्व परिवेशमा परिवर्तन आए पनि असंलग्नताको नीति सान्दर्भिक छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘पछिल्लो समय विश्वका जल्दाबल्दा मुद्दामा संयुक्त राष्ट्रसंघको भूमिका कमजोर जस्तो देखिए पनि नेपालले राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनु पर्छ भन्ने मान्यता राख्छ किनकी अहिलेका समस्या समाधान गर्नसक्ने क्षमता भएको त्योजस्तो अर्को कुनै फोरम छैन।’
त्यस्तै बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध दर्शनको उद्गमस्थल र अन्तर्राष्ट्रिय शान्तिनगरका रूपमा विकास गर्न पहल गर्ने र पशुपति क्षेत्रलाई हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवद्र्धन गर्ने परराष्ट्र नीतिमा उल्लेख छ ।
नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा र वेशभूषाको पनि प्रचार गर्ने नीतिमा जनाइएको छ । नेपालले स्वतन्त्र अस्तित्व, प्राकृतिक तथा सांस्कृतिक विविधता, मौलिक शान्ति प्रक्रियाजस्ता विशेषतालाई ‘सफ्ट पावर’ का रूपमा बाह्य जगत्मा स्थापित गर्नेछ ।
परराष्ट्र नीतिमा द्विपक्षीय सम्बन्धअन्तर्गत छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने र सुदृढ गर्ने उल्लेख छ । त्यस्तै नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गरी सीमा दुरुस्त राख्ने र ऐतिहासिक सन्धि, सम्झौता, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र शान्तिपूर्ण ढंगले सीमा समस्या समाधान गर्ने जनाइएको छ ।
द्विपक्षीय सन्धि सम्झौतालाई राष्ट्रिय हित अनुकूल हुनेगरी पुनरावलोकन तथा परिमार्जन गर्ने र आवश्यकताअनुसार नयाँ सन्धि सम्झौता गर्नेबारे पनि नीतिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको र यसले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने बताए ।




