काठमाडौं । बागमती सफाइ महाअभियानको ३ सय ९५औं हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो ।
अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४ सयऔं हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आइ नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् ।
त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमतिसमेत भएको छ । कुचो लगाउने काममा विभिन्न विद्यालयका विद्यार्थीलेसमेत स्वयंसेवीका रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । शङ्खमूलमा माइक्रो पार्कमा फोहर नगर्न र माइक्रोभित्र डष्टविन राख्न पनि जागरणमूलक अभियान चलाइएको थियो । बङ्गलामुखी जाने बाटोमा गत वर्ष राखिएको गमला फुटालेर त्यहाँ फेरि फोहर गरिएकाले सफाइ गरिएको छ । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताइन् ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३ सय ५५औं हप्तामा गोकर्णेश्वर नगरपालिकाको हनुमान बाटिकास्थित नदी किनारमा सफाइ गरिएको छ । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।
सफाइमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजसमेत सहभागी भएको थियो । विगत आठ वर्षदेखि मुहानदेखि नै बागमती सफाइ गर्ने नाराका साथ गुह्येश्वरीमाथिको नदीमा विभिन्न गतिविधि हुँदै आएको छ । सफाइमा अपाङ्ग मानव अधिकार केन्द्र, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुर सुवेदीसहित स्थानीयवासीकोसमेत सहभागिता थियो ।
विष्णुमती सफाइ अभियानकमो ३ सय २४औं हप्तामा काठमाडौं महानगरपालिका वडा नम्बर १७ स्थित खुसीबुँ क्षेत्रमा सफाइ गरिएको छ । खुसीबुँ पुलबाट शोभा भगवतीसम्मको नदी किनारमा जनचेतनामूलक अभियानसहित सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत संस्था र स्थानीयवासी गरी ६० भन्दाबढीको सहभागिता थियो ।
बागतीको तिलगङ्गा खण्ड सफाइको २ सय ७६औं हप्तामा तिलगङ्गा आँखा प्रतिष्ठानअघिको नदी किनारमा सफाइ गरिएको छ । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी आशा पाण्डेले जानकारी दिइन् ।
मनोहरा सफाइ अभियानको १ सय ९४औं हप्तामा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित मनोहरा कृषि बजार जडीबुटी क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा भएको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिइन् ।
ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९२औं हप्तामा नदीका विभिन्न क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथका उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ आगामी पुस २५ गते ४ सय हप्तामा प्रवेश गर्दैछ । ४ सयऔं हप्तामा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदी, उपत्यकाका चक्रपथलगायत देशका १ सय ६ भन्दाबढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान सुरु भएका छन् ।
कोरोना महामारीका कारण गत चैतदेखि भने नदी किनार निवास भएका अभियानकर्मीमात्र भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइमा सहभागिता जनाउँदै आएका छन् ।




