काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन् ।
कोभिड १९ को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् ।
महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।




