काठमाडौं । सत्तारुढ नेकपामा विवाद पेचिलो बन्दै जाने संकेत देखिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर लेखेको पत्रका कारण बबन्डर मच्चिएको छ ।
प्रचण्डले अराजनीतिक आरोपपत्र लेखेको भन्दै फिर्ता लिनुपर्ने ओली पक्षले माग गरिरहेका बेला सो प्रतिवेदन सातवटै प्रदेशमा अध्ययनका लागि पठाइएको छ । प्रचण्डले पत्र लेखे पनि त्यसको स्वामित्व सचिवालयका पाँचै सदस्य प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिएका छन् ।
ओली समूहले जनताको बहुदलीय जनवादमाथि सैद्धान्तिक छलफल अगाडि बढाएपछि प्रचण्ड नेपाल समूहले पनि आफ्नो प्रतिवेदन अध्ययन गर्न तल्लो तहमा पठाएका हुन् ।
चितवन र कास्कीमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी भेलामा प्रचण्डले लेखेको प्रतिवेदन वितरण गरिएको थियो । जसका कारण चितवनमा झडपको स्थिति उत्पन्न भएको थियो । प्रचण्डको प्रस्तावलाई नेकपा अध्यक्ष ओलीले जवाफ लेख्न समय मागेका छन् । मंसिर १३ गते नेकपाको सचिवालय बैठक बस्दैछ ।
गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सातवटै प्रदेशमा पठाइएको हो ।




